श्रम स्वीकृति लिन ई-टोकन र म्यासेजिङ सेवा सुरु गरिँदै

८ मंसिर, काठमाडौं । ई-स्टिकरपछि वैदेशिक रोजगार विभागले १५ मंसिरबाट ई-टोकन र म्यासेजिङ सेवा सुरु गर्ने भएको छ । ई-टोकन अर्थात् विद्युतीय पालो प्रणालीबाट श्रम स्वीकृतिका लागि अनलाइन फाराम पेश गर्ने कामदारले आफ्नो पालो कहिले आउँछ भन्ने थाहा पाउनेछन् ।

विभागका महानिर्देशक भीष्मकुमार भुसालले कामदारले कुन कार्यालयबाट श्रम स्वीकृति लिने भनेर आफैंले रोज्नसमेत पाउने बताए । उनले अनलाइनखबरसँग भने, ‘फाराम स्वीकृत हुनेवित्तिकै कामदारले कार्यालयमा पर्खिरहनुपर्ने छैन ।

फाराम बुझाइसकेपछि कुनै कारणवस श्रम स्वीकृतिको प्रक्रिया अस्वीकृत हुने भएमा वा थप कागजात पेश गर्नु परेमा मोबाइलमा म्यासेज प्राप्त हुनेछ । श्रम स्वीकृतिको जानकारी पनि मोबाइल म्यासेजमा आउनेछ । फाराम भर्दा पेश गरेको इमेलमा श्रम स्वीकृतिको स्टिकर जानेछ ।

अब कामदारले फाराम भर्दा आफ्नो मोबाइल नम्बर सही छ/छैन भनेर तीनपटक रुजू गरेपछि मात्र अनलाइन फाराम ‘सबमिट’ गर्न विभागले अनुरोध गरेको छ ।

विद्युतीय भुक्तानीको लागि पनि लामो समयदेखि विभागले प्राविधिक तयारी गरिरहेको महानिर्देशक भुसालले बताए । सेवा प्रदायकसँग सम्झौता गर्न छलफल चलिरहेको उनको भनाइ छ । यो प्रणाली लागू भइसकेपछि बीमा र कल्याणकारी कोषको पैसा तिर्न बैंकमा जानुपर्ने वा विचौलियाको सहयोग माग्नुपर्ने अवस्था अन्त्य हुने विभागको दावी छ ।

कामदार छनोट प्रणालीलाई पारदर्शी र अनुमानयोग्य बनाउन अनलाइन प्रणालीसमेत तयार भएर लागू गर्ने अवस्थामा रहेको विभागले बताएको छ । सम्बन्धित सरोकारवालालाई अभिमुखीकरण दिएपछि यो प्रणालीसमेत लागू हुनेछ ।

महानिर्देशक भुसालले मंसिरभरिमा सूचना प्रविधिमार्फत सेवाग्राहीहरुलाई दिइने सेवा स्वचालित र कष्ट निवारक बनाइने बताए । यो सबै काम गर्न विगत ५ महिनादेखि लगातार मिहिनेत गर्नुपरेको उनको भनाइ छ ।